पञ्चनगर खानेपानीको साधारण सभा सम्पन्न, गुणस्तर सुधार र पाइपलाइन विस्तारमा जोड

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असोज ३० गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१०, अल्हावलस्थित पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शुद्ध खानेपानीको गुणस्तर सुनिश्चित गर्दै सेवा विस्तारमा जोड दिएको छ। संस्थाको १६औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाहरूले उपभोक्तालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन पाइपलाइन विस्तार, पानीको गुणस्तर परीक्षण र योजनाको प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने बताएका छन्।


साधारणसभालाई सम्बोधन गर्दै संघीय सांसद विक्रम खनालले शुद्ध खानेपानी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले शुद्ध खानेपानीको प्रयोगले विभिन्न रोगको जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने अभियानमा हिजोदेखि आजसम्म लागिरहेको र आगामी दिनमा पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। फरक प्रसङ्ग उठाउदै उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि र वनसम्बन्धी कानुनका केही प्रावधान संशोधन गर्न अध्यादेश ल्याइएको उल्लेख गर्दै आगामी दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या व्यवस्थित गर्ने दिशामा काम अघि बढ्ने बताउनुभयो।


बर्दघाट नगरपालिकाका नगरप्रमुख तथा सस्थाका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले पञ्चनगर खानेपानी संस्था स्थापनाका लागि स्थानीय ५३ जना उपभोक्ताले गरेको पहल र त्यस क्रममा भएको सहजीकरणलाई स्मरण गर्नुभयो। स्थानीयको सामूहिक प्रयासबाट स्थापना भएको संस्थाले खानेपानी वितरणमा उल्लेखनीय प्रगति गरेको उहाँको भनाइ थियो । नगरप्रमुख श्रेष्ठले खानेपानी सेवाको पहुँच विस्तार गर्न पाइपलाइन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै संघीय सरकारले नगरपालिकालाई उपलब्ध गराउने बजेटबाट खानेपानीको पाइपलाइन विस्तारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाको ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन खानेपानी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो।
उहाँले मुहानदेखि उपभोक्ताको मुखसम्म पुग्ने पानी स्वच्छ र सुरक्षित छ कि छैन भन्ने विषयमा संस्थाको व्यवस्थापन समितिले निरन्तर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँगको समन्वयमा नगरपालिकाले पानीको प्रयोगशाला परीक्षण गर्ने व्यवस्था मिलाउने पनि उहाँले बताउनुभयो।


सस्थाको १६ औं बार्षिक साधारणसभामा बोल्दै निर्वतमान नगरप्रमुख धीरज शर्मा बस्यालले समुदायको सहभागिता र जिम्मेवारीबोधका कारण सामुदायिक संस्थाहरू बलियो बन्ने गरेको बताउनुभयो। बर्दघाट क्षेत्रका खानेपानी संस्थाहरू सामुदायिक प्रयासबाट विकास भएका उदाहरण रहेको उल्लेख गर्दै उहाँले यस्ता संस्थाको दिगोपनका लागि उपभोक्ताको सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो।


जिल्ला खानेपानी महासंघ नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले संविधानले खानेपानीलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि राज्यको पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभयो। राज्यको उपेक्षाका कारण जिल्लाका धेरै खानेपानी आयोजना अलपत्र अवस्थामा रहेको र निर्माणाधीन संस्थाहरूलाई समेत सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ थियो। उहाँले उपभोक्ताको हकहितलाई केन्द्रमा राखेर खानेपानीको नियमित उपलब्धता र गुणस्तर सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।


संस्थाका अध्यक्ष कर्णबहादुर खत्रीले आगामी कार्यक्रम प्रस्तुत गर्दै खानेपानीको गुणस्तर सुनिश्चित गर्न क्लोरिन डोजिङ पम्प जडान गरी उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो। उहाँले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै खानेपानीको गुणस्तर सुधार र पाइपलाइन विस्तारलाई प्राथमिकतामा राखिने बताउनुभयो।
संस्थाका सचिव शिवदेव न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त अवधिमा संस्थाले गरेका निर्णय तथा तिनको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनुभयो।


त्यसैगरी, कोषाध्यक्ष चन्द्रकुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आम्दानी एक करोड सात लाख ७३ हजार ६४० रुपैयाँ र खर्च ९० लाख ५५ हजार २५६ रुपैयाँ रहेको जानकारी दिनुभयो। उहाँले संस्थाको आर्थिक अवस्था र आगामी योजनाका लागि उपलब्ध स्रोतबारे सभामा विवरण प्रस्तुत गर्नुभयो।


बार्षिक साधारण सभामा पेस भएका अध्यक्ष, सचिब, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिती र लेखा परिक्षण प्रतिबेदन पारीत गरिएको छ । सस्थाले बार्षिक साधारण सभामा उपस्थित हुनु भएका उपभोक्तालाई लक्ष्यित गरि ४० जना उपभोक्तालाई सरसफाइ जन्य सामाग्री बितरण गरिएको सस्थाका ब्यवस्थापक नारायण गिरीले जानकारी दिनु भयो । साधारणसभाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल गर्दै आगामी दिनमा खानेपानीको गुणस्तर सुधार, सेवा विस्तार र उपभोक्तालाई नियमित रूपमा स्वच्छ पानी उपलब्ध गराउने विषयमा जोड दिएको छ।


संस्थाका अनुसार २०६१ सालमा साविक पञ्चनगर क्षेत्रका करिब एक हजार पाँच सय घरधुरीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गरिएको थियो। संस्थाले २०६५ सालदेखि निजी धारा वितरण सुरु गरेको हो। हाल संस्थाले २ हजार ६ सय २३ वटा धारामार्फत उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको विवरण साधारणसभामा प्रस्तुत गरिएको छ।

थप समाचार