काठमाडौं, साउन १ : नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएपछि पनि विभिन्न विभागमा सदस्य मनोनयन गरेको भन्दै आपत्ति जनाएको छ। बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले निर्वाचन समितिलाई ध्यानाकर्षण पत्र लेख्दै विधान र निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाएका छन्। उनीहरुले विधानविपरीत भइरहेका नियुक्ति तत्काल रोक्न सभापति देउवालाई आग्रह गरेका छन्।
‘पार्टीको विधानको धारा ६० मा पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग समिति विभिन्न निकायहरुको महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन सरिसक्नुपर्नेछ भन्ने बाध्याम्तक व्यवस्था भएको र बारम्बार ध्यानाकर्षण गराउँदा पनि विभिन्न विभागमा अहिले गठन गर्ने र सदस्यहरु मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो घोर आपत्ति छ,’पत्रमा भनिएको छ।
उनीहरुले निर्वाचनको समान्य मान्यता र आचारसंहिता विपरीत भइरहेका नियुक्ति आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेकाले तत्काल नियुक्तिको काम रोक्न र बदर गर्न पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन्।उनीहरुले आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै विधान र निर्वाचन आचरसंहिता विपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ता तथा शुभेच्छकलाई आग्रह समेत गरेका छन्।









