बर्दघाट खानेपानीमा युवा लक्ष्यित अभियान सञ्चालन

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
कार्तिक १५ गते
नवलपरासी । खानेपानी, सरसफाइ तथा पर्यावरण संरक्षणका क्षेत्रमा युवाहरूको सहभागिता, नेतृत्व र जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले बर्दघाटमा ‘खानेपानी, सरसफाइ तथा पर्यावरणमा युवा अभियान’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख तथा संस्थाका पूर्वअध्यक्ष रुद्रप्रकाश उपाध्यायले युवाहरूले लक्ष्य निर्धारण, दृढता, समयसीमा र इमानदारीलाई आफ्नो कार्यशैलीमा समेट्नुपर्ने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापन अहिले चुनौतीका रूपमा रहेको उल्लेख गर्दै घरबाटै फोहोरको वर्गीकरण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। खानेपानी, सरसफाइ र पर्यावरण संरक्षणका विषयमा युवाहरू सचेत भई सही सूचना प्रवाह गर्न सके पर्यटन विकास र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो। बर्दघाट नगरको आर्थिक विकासका लागि पर्यटन र कृषि महत्त्वपूर्ण आधार बन्न सक्ने उपप्रमुख उपाध्यायले बताउनुभयो।

वन तथा वातावरण विज्ञ युवराज कँडेलले चुरे संरक्षण, खानेपानीको स्रोत संरक्षण र जलवायु परिवर्तनका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बर्दघाट नगरपालिकाको करिब ६६ प्रतिशत भूभाग चुरे क्षेत्रमा पर्ने र नगरको करिब ७५ प्रतिशत जनसङ्ख्या चुरे क्षेत्रमा बसोबास गर्ने तथ्य प्रस्तुत गर्दै खानेपानीको उपलब्धतामा चुरे क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले चुरे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वबारे चर्चा गर्दै पानीलाई आयआर्जनसँग जोड्न सकिने सम्भावनासमेत औँल्याउनुभयो। पात, दुना–टपरी, माछापालन, दाउरा तथा नदीजन्य पदार्थको व्यवस्थित उपयोगबाट स्थानीय आर्थिक गतिविधि र राजस्व सङ्कलनमा योगदान पुग्न सक्ने उहाँको भनाइ थियो।
कँडेलले जलवायु परिवर्तनको असर बढ्दै गएको उल्लेख गर्दै जनसङ्ख्या वृद्धि, पानीको उपभोगमा वृद्धि, प्रदूषण, जलवायु परिवर्तन तथा पर्याप्त पूर्वाधारको अभाव पानीको सङ्कटका प्रमुख कारण रहेको बताउनुभयो। चुरे क्षेत्रको संरक्षण, पानीका मुहानको सुरक्षा र जलस्रोतको दिगो व्यवस्थापनमा सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो।

संस्थाका अध्यक्ष दीपक लम्सालले युवाहरूले उठाएका विषयलाई सम्बोधन गर्दै अबको जिम्मेवारी युवाहरूको काँधमा आउने भएकाले उनीहरूलाई आगामी नेतृत्वका लागि तयार पार्ने अभियानको यो पहिलो चरण भएको बताउनुभयो। उहाँले युवाहरूलाई खानेपानी तथा सरसफाइ केन्द्रित गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

त्यसैगरी, संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका संयोजक कमल थापाले आगामी दिनमा पनि युवा लक्षित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। युवाहरू समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै भावी पुस्तालाई समेत स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन सकिने वा नसकिने भन्ने विषय अहिलेको महत्त्वपूर्ण चुनौती रहेको उहाँले बताउनुभयो। खानेपानीका मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वर्तमान अवस्था तथा हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो। बर्दघाट खानेपानीले विगतदेखि नै उपभोक्तालक्षित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको र उपभोक्ता सचेतना कार्यक्रममार्फत उपभोक्ताहरूलाई समेट्दै आएको उहाँले उल्लेख गर्नुभयो।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले खानेपानी संस्थाले युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको बताउनुभयो। युवा परिवर्तनका संवाहक भएकाले संस्थाहरू पनि युवामैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।

युवाहरूको तर्फबाट किरण बस्यालले युवा लक्षित कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिँदै खानेपानी र सरसफाइका विषयलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो। आनन्दनगर टोलकी प्रतिनिधि एभिना मियाले खानेपानीका विषयमा आफूले नयाँ जानकारी प्राप्त गरेको उल्लेख गर्दै सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट सूचना तथा सञ्चार प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा युवाहरूले खानेपानीको गुणस्तर, सरसफाइ, वातावरण संरक्षण, मुहान संरक्षण तथा युवा सहभागिताका विषयमा आफ्ना जिज्ञासा र सुझावसमेत राखेका थिए।

संस्थाका सहव्यवस्थापक प्रमोद अर्यालको सञ्चालन रहेको कार्यक्रममा २० देखि ३० वर्ष उमेर समूहका करिब ५० जना युवाको सहभागिता रहेको थियो। दिव्य शान्ति युवा समूह, बाढीपीडित युवा क्लब, एमएमआर भजन समूहलगायत विभिन्न युवा समूहका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए।

थप समाचार