भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’को व्यापार चम्कियो

प्रकाशित मिति:

भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’को व्यापार चम्किएको छ । स्टोरहरुमा मसला किन्ने दिदीबहिनीको भीड देखिन्थ्यो । दिदी–बहिनीलाई आकर्षित गर्न स्टोरहरु तिहारमय बनेका छन्।
अहिले डिपार्टमेन्टल स्टोर्स, किराना पसलदेखि सडक किनारासम्म यसकै व्यापार देखिन्छ। सबै सामग्रीलाई मिसाएर एउटै प्याक पारेर बेच्ने गरेका छन्। छुट्टा—छुट्टै खरिद गर्न पनि पाइन्छ। उपभोक्ताको सुविधाका लागि डिपार्टमेन्ट स्टोर्स तथा व्यापारीले सबै प्रकारका मसला एउटै प्याकमा बिक्री गरिरहेका छन्। तिहारमा प्रयोग हुने ओखर, बदाम स्वदेशमा उत्पादन भए पनि अन्य मसला विदेशबाट आयात हुने गरेको छ। दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्ने नेपाली चाडबाडमा पनि विदेशकै भर पर्नुपरेको छ।

नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट ती सामग्री आउने गरेका छन्। भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला आयात भएको छ।