बुटवल, असोज १६ : प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव पेश भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव पेश गरेका हुन्। दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यकालाई स्थायी बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव छ। यसअघि बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश राजधानी र नामको विषयमा प्रस्ताव पास गरेको थियो।
त्यसअघि सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को राजधानी दाङलाई बनाउने सहमति भएको थियो। अध्यक्षद्वयबीच भएको सहमति अनुसार नेकपाले प्रदेश राजधानी दाङलाई बनाउने प्रस्तावका पक्षमा मतदान गर्न प्रदेश कमिटी तथा प्रदेश संसदीय दललाई परिपत्र गरेको थियो। यसअघि लामो समयदेखि प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा सहमति जुट्न सकेको थिएन। नेकपाका महासचिव विष्णु पौडेल बुटवललाई नै स्थायी राजधानी बनाउने पक्षमा थिए भने मुख्यमन्त्री शंकर पोखरेल दाङलाई स्थायी राजधानी बनाउने अडानमा थिए।
यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायतका नेताहरु पनि बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्नेमा लविङमा थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललाई बनाउने निर्णय गरेको थियो। प्रदेशसभामा पेश भएको प्रस्तावमाथि शुक्रबारदेखि नै छलफल सुरु भएको छ। राजधानी र नामांकरणका लागि दुई तिहाइ मत आवश्यक पर्छ। प्रदेश ५ मा नेकपाको दुई तिहाई मत छ। पार्टीले प्रदेश राजधानी र नामको प्रस्तावका पक्षमा मतदान गर्न ह्पि जारी गरेकाले सहजै प्रस्ताव पास हुने देखिएको छ।@kathamandupress