मन्त्रिपरिषद् बैठकको निर्णय गुपचुप ? सरकारका प्रवक्ता भन्छन्– मसी सुक्न नपाउँदै विरोध हुन्छ !

प्रकाशित मिति:

कात्तिक २६ काठमाडौं-  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय तत्कालै सार्वजनिक नगर्ने विषयको बचाउ गरेका छन्।

मन्त्रिपरिषद्को बैठक सकिनासाथ प्रवक्ताले संक्षिप्त र छानिएका निर्णयहरु बारे बताउने प्रचलन रहे पनि आइतबारको बैठकपछि भने उनले कुनै सूचना दिएका थिएनन्। आइतबार राति सकिएको बैठकपछि निस्कँदै प्रवक्ता बाँस्कोटाले उपलब्ध सञ्चारकर्मीहरुलाई भनेका थिए, ‘आवश्यक निर्णयहरु गरिएको छ। र, समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ। आजको लागि यत्ति नै। धन्यवाद।’

यत्ति भनेर बिदा मागेका मन्त्रीलाई थप जिज्ञासा राखेपछि भनेका थिए, ‘यसको अलिकति केही नयाँ प्रबन्ध गर्दैछौं हामी, डिटेलमा दिनका लागि। फरक व्यवस्थासाथ आउँछौं होला।’

सरकारको यस्तो कदमको आलोचना भइरहेको छ। सूचना लुकाउन सरकार उद्यत भइरहेको भन्ने टिप्पणी सुरु हुँदै गर्दा प्रवक्ता बाँस्कोटाले भने आफूहरु नयाँ ढंगले अघि बढ्न खोजेको प्रतिक्रिया दिएका छन्। ‘हामी नयाँ तरिका र हिसाबले जानकारी गराउनेछौं। अब पहिलेकै जसरी आउँदैन। अर्कै ढंगले आउँछ’, नेपाल लाइभसँग उनले भने, ‘तपाईंहरुलाई सूचना त आउँछ नै। यो हप्ता यस्तै भयो। अर्को हप्ता नयाँ ढंगले आउँछ।’

बाँस्कोटाले निर्णयहरु अब खण्डखण्डमा नभई समग्रमा आउने बताएका छन्। तत्काल नै निर्णय सार्वजनिक गर्दा ७२ घन्टासम्म मन्त्रीहरुले निर्णय सच्याउन पाउने अधिकारको सदुपयोग गर्न नपाएको उनले बताए। ‘हैरान भइयो क्या। मसी सुक्न नपाउँदै सार्वजनिक गर्‍यो। केही केही सच्याउनुपर्ने हुन्छ’, उनले भने, ‘निर्णय नै बाहिर भन्दिएपछि सच्याउन पाइएन।’

प्रवक्ताले आफूहरुले सूचना लुकाउन नखोजेको बताए। बरु अलि व्यवस्थित र विस्तृत ढंगले सूचना दिन खोजेको उनको भनाइ छ।

‘१८/२० वटा निर्णय’
प्रवक्ता बाँस्कोटाले आइतबारको मन्त्रिपरिषद् बैठकले १८/२० वटा निर्णय गरेको बताएका छन्। यद्यपि, आइतबारको बैठकबाट केही देशका राजदूत सिफारिस भएको मन्त्रीहरुले जानकारी गराएका छन्। भारतका लागि संविधानविद् नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अबर इमिरेट्सका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल सिफारिस भएका छन्।

‘बढीजसो अर्थ र गृहका प्रस्तावहरु पारित भएको छ’, बैठकमा सहभागी एक मन्त्रीले भने।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घन्टाभन्दा पनि लामो समय बैठक बसेको थियो। तर प्रवक्ता बाँस्कोटाले निर्णयबारे भने जानकारी दिएका थिएनन्।

के छ व्यवस्था?
नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ मा मन्त्रिपरिषद्को निर्णय प्रवक्ताले सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयबाहेक अन्य विषयमा मन्त्रिपरिषद्बाट भएका निर्णय सामान्यतः २४ घण्टापछि सार्वजनिक गर्ने व्यवस्था छ। तर, प्रवक्ताले उपयुक्त ठहर्‍याएको कुनै सार्वजनिक महत्वको विषयमा सोभन्दा अगाडि पनि सार्वजनिक गर्नछन्।

यसअघि निर्णयहरु संक्षिप्त रुपमा तत्कालै सार्वजनिक हुने गरेका थिए। तर, सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयहरुबाहेक अन्य निर्णयहरु भने २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने छ। आइतबारको बैठक राति पौने १० बजे सकिएको थियो।