कात्तिक २९ गाईघाट– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको गत शनिबार भएको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन्। प्रहरीका अनुसार बालिका हत्यामा संलग्न दुई किशोर १४ वर्षीय बहादुर राई ९नाम परिवर्तन० र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याको अभियोगमा ४ दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो।
प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन्। बालिका एक्लै देखेर दुई अभियुक्तले उनी भएको स्थानमा गएको र बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख राईले बताए। बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे मात्रै उनको शव भेटेका थिए। नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरिरमा लगाएको कपडा च्यातिएको, घाँटीमा निलडाम र मुखमा कपडा खाँदेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ।
घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको बताएको छ। शंकाष्पद अन्यलाई भने छाडिएको प्रहरीले बताएको छ।
अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधार गृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजाय बमोजिम कारबाही अगाडि बढाइने छ। रासस












