नेपाली पनको नेपाली मनको, छमछमी डान्स शो चौथो संस्करणको अडिसन १ र २ गते बुटवलमा
नेपाल टेलिभिजनको रियालिटी शो छमछमी मेगा डान्स कम्पिटिसनको चौथो संस्करण अन्तर्गत बुटवल अडिसन आगामी मंसिर १ र २ गते हुने भएको छ । यो संस्करणको पश्चिम नेपालमै पहिलो पटक बुटवलमा हुन गैरहेको सो मेगा डान्सको अडिसनमा झण्डै २ सय जना नृत्यकर्मिहरुको सहभागिता रहने अपेक्षा गरिएको आयोजक टिमले जनाएको छ ।
देशभरका नृत्यकर्मीहरुका लागि सुनौलो अवसर लिएर पश्चिम नेपालमा प्रबेश गरेको छमछमी चौथो संस्करणको कार्यक्रम उत्पादन टिमले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिभिजनका छमछमी उत्पादन समुहका सदस्यहरुले कुना कुनामा लुकेर रहेका प्रतिभाको खोजी गर्नु र अवसर प्रदान नै छमछमीको उद्देश्य रहेको बताएका छन ।
देशका बिभिन्न १२ स्थानमा संचालन हुने सो प्रतियोगिताको फाईनलमा बिजेताले मारुती सुजुकी कम्पनीको अल्टो कार पुरस्कार बापत प्राप्त गर्ने र लाखौं रुपैयाँको उपहार समेत हात पार्ने छन । साथै उपबिजेता प्रथम र द्धितियले क्रमशः ५ लाख र ३ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन । साथै उत्कृष्ठ १० भित्रका बाँकी ७ जनाले पनि जनही १ लाख बराबरको पुरस्कार प्राप्त गर्ने आयोजक टिमले जनाएको छ । कार्यक्रम संचालन गर्न करोडौं रकम खर्च हुने र एउटा अडिसनमा मात्र पनि लाखौं खर्च हुने भएपनि उक्त कार्यक्रममा सहभागि हुनका लागि २ सय रुपैयाँ मात्र फरम शुल्क लिने गरिएको नेपाल टेलिभिजनले जनाएको छ ।
टेलिभिजनका कार्यकारी निर्माता निता सापकोटाका अनुसार देश र जनताप्रति उत्तरदायी भएर नेपाल टेलिभिजनले छमछमी जस्ता कार्यक्रमको उत्पादन गर्ने र नृत्य प्रतिभाहरुलाई ब्यबसायिक बन्न प्रोत्साहित गर्ने समेतको उद्देश्य रहेको छ ।
यसअघि नेपालको पुर्वीभागमा अडिसन राउन्ड सम्पन्न भैसकेको छ । कार्यक्रम हरेका शनिबार राती ८.५० मा नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको छ ।
छमछमीको पहिलो संस्करणमा बुटवलबाट १२५ जना सहभागिता जनाएका थिए । यस्तै तेश्रो संस्करणमा १८० जना सहभागिता भएका मध्ये बुटवलका किशोर थापा १२ औं स्थानमा पुग्न सफल भएका थिए । यसपालीको अडिशनमा २०० भन्दा बढि प्रतियोगिले सहभागिता जनाउने अपेक्षा आयोजकले लिएको छ ।













