स्पेनको कोस्टाब्लाङ्कामा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न, गायिका मेलिना राईको सांगीतिक धमाका
स्पेन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा स्पेनको कोस्टाब्लांकामा आयोजित विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल समाज एसोसिएसन कोस्टाब्लांका र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाको संयुक्त आयोजनामा सोमबार विशेष सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन् । गायिका राईले ‘कुटुमा कुटु’, ‘रातो टीका निधारमा’, ‘टिकटकमा देखेको’, ‘आज हामी भेट भएको दिन’, ‘झल्को’ लगायतका दर्जन बढी लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । राईको सांगीतिक प्रस्तुतिले कार्यक्रम उल्लासमय बनेको थियो भने दर्शकहरूको ताली र उत्साहले कार्यक्रमलाई थप भव्य बनाएको थियो । कार्यक्रममा स्थानीय कलाकारकाहरुको समेत बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सयौं नेपाली तथा स्थानीय दर्शकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले नेपाली कला, संस्कृति, पहिचान र आपसी एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन् ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापाले नेपाली नयाँ वर्षले सबैको जीवनमा नयाँ उमंग, उत्साह र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गरे । यस्तै नेपाल समाज एसोसिएसन कोस्टाब्लांकाका अध्यक्ष केसरबहादुर थापाले मन्दिर तथा गुम्बा निर्माणका लागि समितिको गठन भइसकेको जानकारी दिँदै उक्त कार्यलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीहरूको धार्मिक आस्था, संस्कृति र पहिचानलाई जगेर्ना गर्न यस्ता संरचनात्मक पहल महत्वपूर्ण हुने बताए ।
एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाका अध्यक्ष विपिन कुमार बिसीले नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा आपसी भाइचाराको एकता ल्याओस् भन्दै शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेपाल समाज एसोसिएसनका संरक्षक रितेश श्रेष्ठ, सगरमाथा आरोही अक्कल बोहोरा, केशवराज कडेल, विनोद शेरचन, एनआरएनए स्पेनका उपाध्यक्ष देवराज सापकोटा, सचिव नवराज दुवाडी, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाका पूर्वअध्यक्ष सुरेश बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार, पत्रकार तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल समाज एसोसिएसन कोस्टाब्लांकाका का.वा. महासचिव अशिम लोप्चन र उपाध्यक्ष मोतिसागर पुनले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रम संयोजक स्मृति गौतमले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता खालका सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
हाल युरोप भ्रमणमा रहेकी गायिका राईले स्पेनपछि डेनमार्क र क्रोएसियामासमेत आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।












