इन्ष्टिच्युट फर हाउजिङ एण्ड अर्बन स्टडिजको इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा नियुक्त
नेदरल्याण्डस्को इन्ष्टिच्युट फर हाउजिङ एण्ड अर्बन स्टडिज, इरासमस युनिभर्सिटी अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा नियुक्त भएकी छन् । प्रतिमान नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक तथा कार्यसमिति सदस्य थापा आगामी दुईवर्षे कार्यकालको लागि उक्त युनिभर्सिटीले एलमुनाइ बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । १४३ मुलुकका १० हजार बढी विभिन्न समुदायका शहरी क्षेत्रका विज्ञहरु आबद्ध रहेको नेदरल्याण्ड्सको विश्वविद्यालय अन्तर्गत एलमुनाइ बोर्डको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो । यो युनिभर्सिटीमा पीएचडी, मास्टर्स लगायत अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । नेपालका विभिन्न क्षेत्रमा कार्यरत अधिकृतहरु उक्त विश्वविद्यालयमा अध्ययनको सिलसिलामा जाने गरेका छन् । सन् १९५८ मा स्थापित युनिभर्सिटीले शहरी योजना, पूर्वाधार तथा हरियाली शहर, शहरी तथा आर्थिक विकास, शहरी वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि विषयलाई विशेष जोड दिदै आएको हो ।
नवनियुक्त उपाध्यक्ष थापाले आफु उपाध्यक्षमा नियुक्त भएपछि नेदरल्याण्डस् र नेपालबीच शिक्षाको क्षेत्रमा विभिन्न तहमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने बताइन् । उनले विश्वविद्यालयमा अध्ययन गरिसकेका थुप्रै नेपाली तथा अन्य मुलुकका भुतपूर्व विद्यार्थीहरुलाई एउटै छातामुनी राखेर विभिन्न रचनात्मक कार्य गरिने बताइन् । उनले विश्वका विभिन्न समुदायमा सकारात्मक दिगो विकासलाई लक्षित गर्दै कार्यक्रम विशेष नीति तथा नियम निर्माण गरी अगाडी बढ्ने बताइन् । थापाले त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध, शान्ति र विकासमा स्नातकोत्तर र इरासमस युनिभर्सिटीबाट शहरी विकास तथा व्यवस्थापनमा एम.एस.सी गरेकी छन् । त्यस्तै उनले त्रिभुवन विश्वविद्यालयबाट एमफिल इन पब्लिक एडमिन्स्टेशन समेत गरेकी छन् । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यसमिति सदस्य तथा लुम्बिनी विश्वविद्यालय अन्तर्गत डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेजको सदस्य समेत हुन् । एलमुनाइ बोर्डको अध्यक्षमा ओलेक्सजेन्द्रा, अनलाइन कम्युनिकेशन रेस्पनसिबलमा हाना र ग्लोबल नेटवर्क बिल्डरमा धु्रब नियुक्त भएका छन् ।












