कांग्रेस रूपान्तरणको एजेन्डासहित पूर्व राज्यमन्त्री रज्जाक फेरि केन्द्रीय सदस्यको मैदानमा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले १५औँ महाधिवेशनमा मुस्लिम खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका रज्जाकले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने योजनासहित पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । हाल लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका रज्जाकले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने एजेन्डा अघि सारेका छन् ।
रज्जाकले पार्टीको संस्थागत सुदृढीकरण, पुस्तान्तरण र संगठनको प्रभावकारिता अभिवृद्धिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनले कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै पार्टी र जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
“मेरो उम्मेदवारी व्यक्तिगत लाभ वा स्वार्थका लागि होइन, पार्टी संगठनलाई थप बलियो र प्रभावकारी बनाउनका लागि हो,” रज्जाकले भने, “अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गर्दै कांग्रेसलाई समयअनुकूल रूपान्तरण र सुदृढीकरण गर्ने मेरो योजना छ ।”
रज्जाकले कांग्रेसलाई जनतासँग अझ नजिक जोड्दै जनताका समस्या, अपेक्षा र भावनालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । उनले पार्टी संगठनलाई गाउँदेखि केन्द्रसम्म थप गतिशील बनाउँदै कार्यकर्ताको मनोबल उच्च बनाउने र संगठनमा नयाँ पुस्ताको सहभागिता बढाउने प्रतिबद्धता जनाएका छन् ।
रज्जाक १४औँ महाधिवेशनमा मुस्लिम खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि सम्पन्न विशेष महाधिवेशनबाट समेत उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । लामो समयदेखि पार्टीको केन्द्रीय नेतृत्वमा सक्रिय रहेका रज्जाकले यसपटक पनि मुस्लिम क्लस्टरबाट आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।

रुपन्देही कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका रज्जाकले जिल्ला नेतृत्वमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन् । महासमिति सदस्यका रूपमा काम गरिसकेका उनी २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले पूर्वराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
२०३६ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका रज्जाक क्षेत्रीय तह हुँदै जिल्ला नेतृत्वमा पुगेका हुन् । पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका उनले कांग्रेसका विभिन्न तहमा रहेर सांगठनिक अनुभव हासिल गरेका छन् ।
आफ्नो लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई पार्टीको आगामी यात्रासँग जोड्दै कांग्रेसलाई थप बलियो, गतिशील र जनमुखी बनाउने रज्जाकले बताएका छन् । उनले पार्टीको संगठनलाई समयअनुकूल सुदृढ गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई थप मजबुत अवस्थामा पुर्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।









