राष्ट्रपतिको सामाजिक सञ्जालमा चर्को विरोध

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुलेट प्रुफ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ। अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मान्छेहरु खनिएका हुन्। धेरै व्यक्तिले ट्वीटर र फेसबुकमा महंगो विलासी कार किन्ने सरकारी निर्णयको भर्त्सना गर्दै करदाताको पैसा दुरुपयोग नगर्न सचेत गराएका छन्। नेपाली कांग्रेसका नेता धनराज गुरुङले भनेका छन् ‘एकातर्फ गरिब जनताको रगत र पसिनाले करोडौंको गाडी र अरबौंको महल राजनीतिक नेतृत्वलाई अर्कोतर्फ तिनै गरिब नेपालीले उपचार खर्चको अभावमा आत्महत्याको बाटो रोज्नु पर्ने यही बिडम्बना देख्नका लागि हामीले गणतन्त्र नेपाल बनाएका होइनौं।

यसैगरी राष्ट्रपतिको निवास र कार्यालय विस्तार गर्न नेपाल प्रहरीको तालिम केन्द्रलाई अन्यत्रै सार्ने निर्णय विरुद्ध पनि सर्वसाधारण लगायतले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन्। प्रतिष्ठित भवनको रुपमा परिचित शितल निवासलाई बचाउनका लागि यसको स्वरुप नविगारिकन राष्ट्रपति कार्यालयलाई नै अन्यत्र सार्न उपयुक्त हुने कतिपयको सुझाव छ। राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेर जबराले बि।सं। २००७ को क्रान्ति सफल भएपछि सरकारी अतिथि गृह बनाउनका लागि सरकारलाई यो भवन दान गरेका थिए। त्यसवेला सरकारसँग अतिथि गृहका लागि कुनै भवन थिएन। राणा र नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि सम्बन्ध सुधार हेतु चन्द्र शम्शेरका छोराले यो भवन स्वेच्छिक दान गरेको इतिहासकारहरुको भनाइ छ। युरोपियन शैलीमा निर्मित शितल निवासले त्यसवेला १४० रोपनी क्षेत्र ओगटेको थियो।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले कृष्ण शम्शेरको सदिक्षालाई सम्मान गर्न सरकारलाई आग्रह गरे। ‘इच्छा पत्रमा नै सरकारसँग अतिथि गृहका लागि भवन नभएर दिएको’ भन्ने उल्लेख भएकाले कृष्ण शम्शेरको चाहनालाई सम्मान गर्ने कि नगर्नेरु पाण्डेले प्रश्न गरे। २००७ साल पछि यो अतिथि गृहले थुप्रै अति विशिष्ट पाहुनालाई आतिथ्य पस्केको थियो। नेपालको भ्रमण गरेका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु, चिनियाँ प्रधानमन्त्री चाउऐन लाई, बेलायती महारानी एलिजावेथ द्वितीय, पाकिस्तानी राष्ट्रपति अयुव खान, भारतीय राष्ट्रपति राजेन्द्र प्रसाद र राधा कृष्णन र जापानका तत्कालिन राजकुमार अकिहितोलाई यही भवनमा राखिएको थियो।

सिंहदरवारमा आगलागी भएपछि बिसं २०३० को दशकमा परराष्ट्र मन्त्रालय सिंहदरवारबाट शितल निवास सारिएको थियो। त्यसैबेला नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि सिंहदरवारबाट नक्साल सारिएको थियो भने शितल निवाससँगै जोडिने गरि प्रहरीको तालिम केन्द्र निर्माण गरिएको थियो।
नागरीक न्युज वाट साभार