चाकडी गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीलाई पत्र लेखेर वीरका डाक्टरले दिए राजीनामा

प्रकाशित मिति:

४ मंसिर, काठमाडौं । वीर अस्पतालका न्यूरो सर्जरी युनिटका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले जागिरका लागि चाकडी गर्न नसकेको भन्दै राजीनामा दिएका छन् । सोमबार उपप्रधान तथा स्वाथ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यावदलाई राजीनामा पत्र बुझाएका हुन् ।

आफूले चाकडी गर्न नसकेको र माग अनुसारको घुस दिन नसकेकोले पदबाट राजीनामा दिनुपरेको अधिकारीले स्वास्थ्य मन्त्रीलाई पठाएको राजीनामा पत्रमा लेखेका छन् ।

विगत एक वर्षदेखि तलबबिहीन भएर वीर अस्पतालमा काम गर्दै आएको, तर पद खाली हुँदासमेत आफ्नो पोस्टिङ नभएको गुनासो उनको छ । न्यूजसेवासँग कुरा गर्दै न्यूरोसर्जन अधिकारीले स्वास्थ्यसचिवलगायत सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा पनि आफ्नो आग्रह नसुनेकाले राजीनामा दिने अवस्थामा पुगेको बताए ।

उनले आफूले अन्त काम नपाएर भन्दा पनि वीरमा रहेर गरिब नेपालीको सेवा गर्न चाहेकाले सकेसम्म त्यहीँ बस्ने खोजेको बताए । तर, सम्बन्धित पक्षले नै बाहिरिने वातावरण बनाएपछि बाध्य भएर राजीनामा दिएको बताए ।