मङ्सिर ५ बुटवल । डिसेम्बर २ तारिखमा हुन गईरहेको विश्व अपाङ्ग दिवसमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै गुल्मीको आशा अपाङ्ग केन्द्र तम्घासकी गंगा रायमाझी जाने अवसर प्राप्त गरेकी छन् ।
‘गुल्मी जिल्ला युके समाज बेलायत’को छनौटमा त्यस केन्द्रकी उपाध्यक्ष रहेकी रायमाझीले डिसेम्बर २ तारिखमा जाने भएकी हुन् । लण्डनको उल्वेज लोटर्स क्लबमा हुने विश्व अपाङ्ग दिवसमा नेपालका अपङ्गहरुको अवस्थाबारे उनले प्रतिवेदन पेस गर्ने छिन् ।
गुल्मीको छापाहिलेमा जन्मेकी रायमाझी तीन महिनामा आगोमा परेर दुवै खुट्टा जलेर अपाङ्ग भएकी हुन । यस्तो अवसर दिलाएको प्रति रायमाझीले गुल्मी जिल्ला युके समाज प्रति कृतज्ञता जाहेर गरेकी छन् । उनले त्यस अवसरमा बेलायत भर रहेका नेपालहरूको सहभागिताका लागि अनुरोध गरेकी छन् । आयोजक संस्थाले समेत बेलायतमा रहेका नेपालीहरूलाई सहभागिताका लगी निमन्त्रण गरेको छ ।
गुल्मी जिल्ला युके समाज बेलायतले गुल्मीका अपाङ्गहरूको उद्धारका लागि गुल्मी तम्घास स्थित आशा अपाङ्ग केन्द्र मार्फत सन २०११ देखि हालसम्म गरेको सहयोग रकमको विवरण पेस समेत गर्ने छन् । त्यस कार्यक्रममा नेपालको तर्फबाट रायमाझीलाई निमन्त्रण गरिएको र त्यसका लागि भिसा समेत बनी सकेको गुल्मी जिल्ला युके समाजका अध्यक्ष राम गलामीले जानकारी दिए ।
उनका अनुृसार त्यस कार्यक्रममा बेलायतभर रहेका नेपाली, स्थानीय सरोकारवाला , अन्य मुलुकका प्रतिनिधिहरूले समेत भाग लिने छन् । समाजका महासचिव शिव भण्डारीका अनुसार कार्यक्रमलाई भव्य पार्न अहिलेदेखि नै तयारी थालिएको छ । समाजका उपाध्यक्षत्रयः टोप पल्ली, फणिन्द्र भण्डारी, राजन खरेल , सचिव वीर वलाल , कोषाध्यक्ष तारानाथ भण्डारी, सह सचिव राम सापकोटा लगायत विभिन्न उप–समितिमा रहेर तयारलाई तीव्र तयारी थालेको महासचिव भण्डारीले जानकारी दिए ।
बेलायतमा नौ मति बाजा संरक्षणका प्रणेता तथा समाजका संस्थापक अध्यक्ष ओम थापाका अनुसार अपाङ्गता लगायत विपदमा परेका नेपालीहरूको उद्धारका लागि समाजले बर्षऔ अघिदेखि सक्रियता बढाउँदै आएको छ ।
समाजले गुल्मीको आशा अपाङ्ग केन्द्रलाई समेत एम्बुलेन्स सहित हालसम्म ३३ लाख भन्दा बढी सहयोग गरेको छ । उसको सहयोगबाट हाल सम्म आशा अपाङ्ग केन्द्रबाट जिल्लाका साढे सात हजार भन्दा बढी अपाङ्गहरूले उपचार र स्वरोजगार पाएका छन् ।
त्यस्तै बेलायत मार्फत नेपालको नौ मति बजालाई विश्वभर फैलाउन सफल प्रथम नौमजि बाजा संरक्षण समिति युकेले समेत तिन लाख भन्दा बढी सहयोग गरेको छ ।












