अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलमा नयाँ नेतृत्व, अध्यक्षमा सरिता शर्मा, महासचिवमा सुरेश गिरी

प्रकाशित मिति:

✍️भरत प्रधान
लिस्बन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा सरिता शर्मा निर्वाचित हुनुभएको छ ।

आइतबार राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको आठौं एकताको अधिवेशनले शर्माको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। जसको उपाध्यक्षमा मानवीर लामा, सुरेश कुमार र देवराज घिमिरे चयन हुनुभएको छ ।

मञ्चको महासचिवमा सुरेश गिरी, सचिवमा प्रकाश घिसिङ र दीपक परियार तथा कोषाध्यक्षमा शम्भु प्रसाद उप्रेती निर्वाचित हुनुभएको मञ्चले जनाएको छ। 


अधिवेशनलाई सम्बोधन गर्दै नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रवासी नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने बताउनुभयो। उहाँले प्रवासी नेपालीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि लिएर स्वदेश फर्किनुपर्नेमा जोड दिनुभयो। ‘एकपटकको नेपाली सधैंको नेपाली’ भएको उल्लेख गर्दै नेता पुनले प्रवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र नभई अब राजनीतिक अधिकारको समेत सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो।

अधिवेशनलाई पार्टीका पश्चिम प्रवास इन्चार्ज सुरेन्द्र भुसाल, सह इन्चार्ज शंकर पन्त, संयोजक उदयराज गौतम, सहसंयोजक सुष्मा भुषाल, मञ्चका युरोप संयोजक चित्र सुवेदीलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा हेम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।