मंसिर ६, २०७५ पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ ख्यारुपा सिरानमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ३९ की ईन्द्रमाला चेम्जोङको मंगलबार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
वर्ष ४२ को नर बहादुर चेम्जोङले धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । आफ्नै जेठी श्रीमतीको हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले बुधबार पाँचथरको मिक्लाजुङ गाउँपालिका १ ईलाम र पाँचथरको सिमाना पर्ने फुङसिङडाँडा जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका चेम्जोङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको पाँचथर प्रहरीले जनाएको छ ।












