बुटवल , ६ मंसिर – भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउसो चोरी भएको छ । उनको घरमा बिहान १० देखि बेलुका ५ बजेकाबीचमा चोरी भएको हो ।
प्रहरीका अनुसार उनको दुईतले घरको भुईतलामा रहेको सेफ चोरी भएको छ । चोरले सेफमा रहेको नगद सहित सुन र चाँदीका गहना लगायतका सामाग्री चोरी लगेको हो ।
प्रहरीका अनुसार उपमेयर जोशीले मंगलबार साँझ सातबजे खबर गरेकी थिइन । घटनास्थलमा घरको पछाडीको ढोका फोडेर चोर प्रवेश गरेको देखिएको छ ।
उपमेयर जोशीले दाबी गरे अनुसार सुनका चुरा ६ थान, सुनको नेकलेस २ थान, सुनकै माला र हिराका गहना चोरी भएको हो । चोरले उपमेयर जोशीको घरबाट सुन मिसिएको चम्चा र १ लाख ५० हजार नगद समेत चोरी गरेको छ । प्रहरीका अनुसार उपमेयर जोशीको घरबाट १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमान चोरी भएको जाहेरी परेको छ ।
भक्तपुर प्रहरी र अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ ।












