मङ्सिर ६ काठमाडौं । सुनसरीको दुहबी नगरपालिका छाताबेलीका इँटा व्यवसायी मोहम्मद फिदा हुसैनको हत्याको कारण आर्थिक लेनदेन र ब्यक्तिगत रिसइबी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ।
प्रहरीले दुई महिना अघि सुनसरीकै भुटाहका मौलाना खुर्सिद अन्सारीको हत्या र फिदा हुसैनको हत्यामा कुनै एक रुपता नभएको प्रारम्भिक निष्कर्ष निकालेको हो।
प्रहरी अधिकारीकाअनुसार खुर्सिदको हत्या समुदाय लक्षित र केही सन्देश दिन नियोजित र योजनावद्ध देखिएकाे थियो। उनलार्इ भारतीय खुफिया एजेन्सीका मान्छेहरूले हत्या गरेको अनुसन्धानले देखाएकाे थियाे। फिदा हत्याकाे कारण के हाे भनेर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेकाे छ।
फिदाको हत्या मौका पर्खिएर उनको नियमित समयलाई पच्छयाउदै भएको देखिन्छ। दुहबी नगरपालिका–९ छाताबेली बस्ने जय बाबा ईट्टाभट्टाका सुपरभाईजर ४५ वर्षीय फिदा हुसैनको गोली प्रहार गरी बुधबार बिहान हत्या भएको हो।
हुसेनलाई मर्निङ वाक गर्ने क्रममा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
मृतकका आफन्तले फिदाको शब आफ्नो नियन्त्रणमा राखेका छन्। प्रहरीले उनलाई कति गोली हानिएको हो र कुन पेस्तोल प्रयोग भएको हो पत्तो लगाउन सकेको छैन। शबको पोष्टमार्टम नहुँदा अनुसन्धान प्रभावित भएको हो।
प्रदेश १ का प्रहरी प्रमुख डिआईजी केदार रिजाल आफैँ घटनास्थलमा पुगेर परिवारका आफन्त र स्थानीयसँग छलफल गरिरहेका छन्। उनले फिदाको शबको पोष्टमार्टम गर्न दिन र अन्येष्टिका लागि स्थानीय अगुवासँग वार्ता गरिरहेका हुन्।
‘म घटनास्थलमा मृतका आफन्तसँगै छु, हामीले सबै संयन्त्रको प्रयोग गरी अनुसन्धान गरिरहेका छौं,’ डिआईजी रिजालले भने। उनका अनुसार सुनसरी प्रहरीले केही शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
यता, प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभाग अन्तर्गत रहने बिशेष ब्युरोमा कार्यरत एसएसपी मसउँद आलम खाँलाई अनुसन्धानका लागि सुनसरी पठाएको छ।
एसपीका रुपमा सुनसरीमा बसेका खाँलाई त्यहाँको वस्तुस्थिति र स्थानीयसँग समन्वयनमा सजिलो हुने भएकाले पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एसएसपी खाँको टोली केही समयअघिमात्र बिराटनगर पुगेको छ।












