पुस्तकालयको संरक्षणमा स्थानीय सरकार बेखबर : साहित्यकार

प्रकाशित मिति:

पुनहरि बेल्बासे

भैरहवा, मंसिर ८

विश्वमा पुस्तकालयको संरक्षण राज्य पक्षबाट हुने भएपनि नेपालमा भने राज्यको ध्यान नपुग्नु दुःखद् कुरा रहेको साहित्यकारहरुले बताएका छन् । पुस्तकालय साझा सम्पत्ति भएको र त्यसको संरक्षण सबै तह र निकायका व्यक्तित्वको हुनु पर्नेमा स्थानीय सरकार पुस्तकालय संरक्षण गर्ने ध्येयमा नरहेको साहित्यकारहरुको धारणा रहेको छ । सताब्दि वर्ष पुराना पुस्तकहरु संरक्षण नहुँदा आगामी पिंढीले पुस्तक अध्ययनबाट बञ्चित हुनुपर्ने बताउँदै पुस्तकालयको संरक्षणमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जानु पर्ने साहित्यकारहरुले बताएका छन् । आज भैरहवाको शहीद स्मृति पुस्तकालयको १७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्ने साहित्यकारहरुले पुस्तकालयको संरक्षण नभएको बताएका हुन् ।

राष्ट्रलाई भौतिक रुपमा समृद्धि भएर मात्र समृद्धि नहुने बताउँदै शैक्षिक र नैतिक विकास हुन जरुरी हुने कार्यक्रमका विशिष्टि अतिथी गुल्मीका साहित्यकार शशी पन्थीले बताए । उनले विश्वमा राज्यले पुस्तकको संरक्षण गरे पनि नेपालमा नेतृत्व गरेका राजनेताले पुस्तकालयमा आगो लगाउने गरेको आरोप लगाए । राष्ट्रका लागी आफ्नो अमूल्य जीवन प्रदान गर्ने शहीदको नामबाट पुस्तकालय नामाकरण गरेकोले यसको संरक्षण गर्न नगरबासी र स्थानीय सरकारको पनि जिम्मेवारी रहेको पुस्तकालयका अध्यक्ष वनमाली निराकारले बताए ।

हरेक वर्ष जस्तै यस वर्ष पनि पुस्तकालयले पुस्तक प्रकाशनलाई निरन्तरता दिँदै दियालो नामक साहित्यिक पुस्तक पनि विमोचन गरेको थियो ।

उक्त कार्यक्रममा समाजसेवी ओमकार गौचन, दीपक क्षेत्री न्यौपाने, शिक्षाविद् बालकृष्ण भट्टराई, डिल्लिराज भट्टराई, विजय सागर, खगेन्द्र गिरी, घनश्याम घिमिरे, योगनाथ आचार्य लगायतले मन्तव्य राखेका थिए ।

७ जना सम्मानित

शहीद स्मृति पुस्तकालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । रामकला बुद्धिनाथ गौतम स्मृति पुरस्कारबाट बालकृष्ण भट्टराई, गंगादेवी नरनारायण साहित्य पुरस्कारबाट नारायण सुवेदी, कृष्णकान्ता अधिकारी स्मृति पुरस्कारबाट बिट्टु कुमी, नेत्रशोभा साहित्य पुरस्कारबाट खगेन्द्र गिरी, कालिका जगन्नाथ प्रतिभा पुरस्कारबाट सागर पुन, जीवलक्ष्मी शिक्षा पुरस्कारबाट वर्षा सुवेदी र विश्राम ढकाल स्मृति पुरस्कारबाट घनश्याम घिमिरे सम्मानित भएका छन् ।