औद्योगिक क्षेत्र उद्योग संघद्धारा सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिण्डरहरु संकलन गरी हस्तान्तरण
कोरोना संक्रमितको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तिका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायिक संघ संस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् । पछिल्लो समय बजारमा देखिएको अक्सिजन सिलिण्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिण्डरहरु संकलन गरी प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५५० वटा अक्सिजनका सिलिण्डरहरु संकलन गरी लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरी ती सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण भण्डारीले बताए । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न प्रकृतिका उद्योगहरुले आफ्नो उत्पादन कार्यका लागि प्रयोग गरिदै आएका सिलिण्डरहरु कोरोना उपचारका लागि उपलब्ध गराएको जनाइएको छ । औद्योगिक उत्पादन भन्दा मानिसको स्वास्थ्य महत्वपूर्ण भएकोले उद्योगीहरुले संघले गरेको अनुरोधलाई आत्मसाथ गरी सिलिण्डरहरु दिएको संघका अध्यक्ष भट्टराईले बताए ।









