वालिङमा सञ्चालनमा आयो आईसोलेसन केन्द्र

प्रकाशित मिति:

तोलाकान्त बगाले-वालिङ, ३१ बैशाख । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।अस्पतालमा निर्माणाधिन भवनमा सञ्चालनमा ल्याईएको आईसोलेसन कक्षमा रहेका प्रत्येक शैयामा अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने उहाँले बताउनुभयो ।

कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।“बजार तथा गाउँ÷गाउँमा सङ्क्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।”विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर तथा सङ्क्रमितको संख्या स्याङ्जाका एघार पालिकामध्ये वालिङमा धेरै छ ।

गह«ौं प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका विरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।उहाँका अनुसार अस्पतालमा गरिएको नमूना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ । होम आईसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आईसोलेसन कक्षमा ल्याई उपचार गरिने उहाँले बताउनुभयो ।

सङ्क्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।