अध्यक्ष प्रचण्डलाई भेटेर अमेरिकी राजदूतले के भने ?

प्रकाशित मिति:

बुटवल ११ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गरेका छन् । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो ।अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याए । अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए ।

अध्यक्ष प्रचण्डले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने, ‘तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताए ।

राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि)मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए । उहाँले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको बताए ।