सो कार्यक्रमका लागि २० करोड खर्च हुने बताईरहँदा आयोजक संस्थाले भने सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको हो
काठमाडौँ । नेपाल सरकारको प्रत्यक्ष संलग्नतामा क्रिश्चियन धर्मको प्रचारको लागि गठित संस्थाले गर्न थालिएको भनिएको एशिया प्याशिफिक समिट आयोजना हुने अबधी भर काठमाण्डौमा सवारी साधन संचालन गर्दा जोर बिजोर प्रणाली लागु हुने भएको छ । सो कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।
यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ । युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने भनिएको कार्याक्रममा सरकार नै सहआयोजक बसेको छ । सरकारसँग सो कार्यक्रम आयोजकले ३१ करोड रुपैयाँ माग गरेको स्रोतले जनाएको छ । सो को लागि २ करोड रुपैयाँ त निकासा नै भईसकेको छ । यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको भन्दै तीब्र आलोचना समेत भईरहको छ । कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष एकनाथ ढकालले सो कार्यक्रमका लागि २० करोड खर्च हुने बताईरहँदा आयोजक संस्थाले भने सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको हो ।
सरकारको सहभागितामा काँग्रेसको बिरोध
उता गत शनिबार नेपाली काँग्रेसले पनि धर्म निरपेक्ष मुलुकमा सरकार एउटा आईएनजीओको मातहतमा रहेर अमूक धर्मको प्रचारमा लागेको भन्दै यसमा आपत्ति जनाइसकेको छ । काँग्रेसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय २५ दिनपुग्नै लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकार क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लगाएको हो । शनिबार राजधानीमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका थिए ।