काठमाडौं-सर्वोच्च अदालतले सम्पादकलाई सोधपुछका लागि बोलाएको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।समाचारको विषयलाई लिएर सर्वोच्च अदालतले नेपाल समयका प्रधान सम्पादक नारायण अमृत र इमेज खबरका सम्पादक राजन कुइँकेललाई बोलाएको भन्दै महासंघले आपत्ति जनाएको हो।महासचिव रोशन पुरीले विज्ञप्ति सार्वजनिक गर्दै सम्पादकलाई अदालतले सोधपुछका लागि बोलाएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
‘समाचारको विषयलाई लिएर ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।विज्ञप्तिमा प्रकाशित–प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि हुँदाहुँदै सोधपुछका लागि बोलाएकोप्रति विज्ञप्तिमा विरोध जनाइएको छ। महासंघले संविधानको सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न आग्रहसमेत गरेको छ।
‘प्रकाशित–प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ। त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो’, विज्ञप्तिमा थप भनिएको छ, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ।’











