अफगानिस्तान, १४ मंसिर – विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन् ।
सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएका छन् ।
घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ । उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ । नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ ।
बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।












