तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ ०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । अतिविपन्न ५० परिवारलाई घर बनाउन प्रतिपरिवार दुई लाख अनुदान दिइने घोषणा गरिएको छ । ‘ग’ वर्गको अपाङ्गता भएकालाई वार्षिक ६ हजार सामाजिक सुरक्षाभत्ता व्यवस्था मिलाइएको छ ।
जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकतामा राखिएको छ । असोजभित्र व्यवसाय कर तिर्दा तीन महिनाको कर छुट दिइएको छ । चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ । कोरोना प्रभावित युवालाई सस्तो ब्याजदरमा ऋण दिइने नीति लिइएको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण : युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी : जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगर प्रमुख घिमिरेले बताए ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उनले स्पष्ट पारे ।









