काठमाण्डौ – नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिकारनगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । नेता महतले भन्नुभयो, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस्, संविधानको रक्षा होस् र त्यसमा जोडिन चाहनेहरूलाई एक बनाएर लैजाने पार्टीको बैठकले निर्णय गरेको छ । वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेको छ, त्यसको विरुद्ध मोर्चा बनाउँछौँ ।’उहाँले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिको विषयमा छलफल भइरहेको पनि बताउनुभयो ।








