चिठ्ठा पर्यो भन्दै ठगी गर्नेदेखि सचेत हुन बैंकर्स संघको आग्रह

प्रकाशित मिति:

काठमाडौं : सामाजिक सञ्जालमा ‘चिठ्ठा पर्यो’ भन्दै ठगी हुने गरेको भन्दै नेपाल बैंकर्स संघले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनेर मेसेज आउने अनि गोप्य विवरण मागेर ठगी हुने गरेको भन्दै यसमा सचेत हुन सर्वसाधारणलाई संघले आग्रह गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसमा विशेष सचेत रहन र शंकास्पद सन्देश आए नजिकैको बैंक शाखामा खबर गर्न अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएको संघले जनाएको छ ।

यसमा सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न संघले आग्रह गरेको छ । साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न भनेको छ । सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न संघले अनुरोध समेत गरेको छ ।