एसियन भलिबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी छनाेट

प्रकाशित मिति:

काठमाडौं- नेपाल भलिबल संघले महिला एसियन भलिबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडीको नाम घोषणा गरेको छ। भदौ १३ देखि २० सम्म फिलिपिन्समा हुने प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा ३० खेलाडी घोषणा गरिएको थियो। तर, नेपाल प्रहरीका पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ प्रशिक्षणमा सहभागि भएका थिएनन्।

दोस्रो चरणमा थप ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको हो। अब केही साता टोलीले प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुनेछ।यसपटक टोलीमा सेटर कमला पुन र मिडल ब्लकर हिरा केसीले स्थान बनाउन सकेनन्। यस्तै, रिमा कुँवर, पुजा चौधरी, सरस्वती कट्टेल, झरना श्रेष्ठ, संगम महतो, वाल्मिका आचार्य र सृष्टि खड्गीले पनि स्थान बनाउन सकेनन्।गत साता मात्र संघको कार्यवहाक अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको थियो। नेपाल भलिबल संघले सचिव मनवीर छन्त्याल संयोजक रहेको खेलाडी छनोट समितिमा संघका केन्द्रिय सदस्य रीता कोइराला, ज्योती केसी, जुनु पुन, राखेप अन्तर्गत भलिबलका मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह, महिला टोलीमा मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव छन्।

समितिले दोस्रो चरणमा १८ सदस्यीय खेलाडी तथा अन्तिम राउन्डमा १२ सदस्यीय खेलाडी छनोट गर्नेछ।टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।नेपालले पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्दैछ।च्याम्पियनसिपमा फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङले भाग लिने छन्।

छनोट भएका १८ खेलाडी
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, रिया कुँवर, लक्ष्मी चन्द