निर्माणाधीन पुल भत्कियो

प्रकाशित मिति:

उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो ।१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको सिवाई खण्डको दुइवटा स्लाब बाढीले बगाएको स्थानीय भाष्कर चौधरीले बताए । ११ कडोर २६ लाख लागतमा २ वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६७/०६८ मा निर्माण सुरु भएको पक्की पुल हाल सम्म पनि संञ्चालनमा आउन सकेको छैन  । पटकपटक म्याद थप्दासमेत पुल निर्माण कार्य अझै अधुरै रहेको थियो ।

११ वर्षअघि निर्माण सुरु गरिएको पुल संचालनमा नआई भत्किदा उदयपुरको व्यापारिक केन्द्र बेल्टार बजार र आसपासका बासिन्दाहरु चिन्तित बनेका छन् । पुल निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले लिएको छ । सम्झौताअनुसार ०७०/७१ मै पुल निर्माण सकिनुपर्ने थियो ।पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले निर्माण कार्य ८३ प्रतिशत पूरा भएको मूल्यांकन गरि भुक्तानि समेत गरेको योजना प्रमुख गोपाल खकुरेलले बताए  ।

विभिन्न कारण देखाउदै निर्माण कम्पनिले पुल निर्माणमा ढिलाई गरेको र सो वापतको जरिमाना समेत आयोजनालाई तिरेर काम गरि रहेको योजना प्रमुख खकुरेलको भनाइ छ । निर्माणाधिन अवस्थामानै पुल भाचियकाले अव निर्माण कम्पनिलेनै बनाउनु पर्ने समेत योजना प्रमुख खकुरेलले बताए ।