कोपा अमेरिका : क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

प्रकाशित मिति:

कोपा अमेरिका अन्तर्गत आइतबार बिहान क्वाटरफाइनलका अन्तिम २ खेल हुँदैछ । यी खेलमा उरुग्वेले कोलम्बियाको सामना गर्दा अर्जेन्टिना र इक्वेडर आमनेसामने हुनेछन् ।यी खेलबाट प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । नेपाली समय अनुसार बिहान पौने ४ मा माने गारिन्चा फुटबल मैदानमा हुने खेलमा उरुग्वेले कोलम्बियाको सामना गर्नेछ ।

उरुग्वे समूह ‘ए’को दोस्रो तथा कोलम्बिया समूह ‘बी’ को तेस्रो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेका हुन् । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टिमको लक्ष्य सेमिफाइनल हुनेछ ।हालसम्म यी दुई टोलीले ४२ खेलमा एक अर्काको सामना गरेका छन् । उरुग्वे २०, कोलम्बिया १३ खेलमा विजयी हुँदा ९ खेल बराबरीमा सकिएको छ ।यी दुईले पहिलो पटक सन् १९४५ मा एक अर्काको सामना गरेका थिए । कोपा अमेरिका अन्तर्गत भएको यो खेलमा उरुग्वेले ७-० को फराकिलो जित दर्ता गरेको थियो ।

विश्वकप छनोट अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा पनि उरुग्वे ३-० ले विजयी भएको थियो ।उरुग्वे कोलम्बिया विरुद्धको इतिहासलाई कायम राख्दै सेमिफाइनलमा प्रवेश गर्ने प्रयासमा हुनेछ । कोलम्बिया पनि उरुग्वेलाई स्तब्ध पार्दै अघि बढ्ने दाउमा हुनेछ ।यस खेलको विजेताले अर्जेन्टिना र इक्वेडर बीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।नेपाली समय अनुसार बिहान पौने सातमा ओलिम्पिको फुटबल मैदानमा उपाधि दाबेदार अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।अर्जेन्टिना समूह ‘ए’ को विजेताका रुपमा तथा इक्वेडर समूह ‘बी’ को चौथो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेका हुन् । यो खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनल पुग्न चाहन्छन् ।अहिले सम्म यी दुईले ३६ खेलमा एक अर्काको सामना गरेका छन् । अर्जेन्टिनाले २१, इक्वेडरले ५ खेल आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलो पटक सन् १९४१ मा एक अर्काको सामना गरेका थिए । कोपा अमेरिका अन्तर्गत भएको यो खेलमा अर्जेन्टिनाले ६-१ को फराकिलो जित दर्ता गरेको थियो ।विश्वकप छनोट अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा पनि अर्जेन्टिना १(० ले विजयी भएको थियो । इतिहासमा बलियो रहेको अर्जेन्टिना यो खेलमा पनि त्यसलाई निरन्तरता दिँदै सेमिफाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।इक्वेडर पनि इतिहासलाई बिर्सिँदै अर्जेन्टिनालाई स्तब्ध पार्ने दाउमा हुनेछ । तर, उसलाई लयमा देखिएको अर्जेन्टिनामाथि जित निकाल्न सहज भने हुने छैन ।यस खेलको विजेताले सेमिफाइनलमा उरुग्वे र कोलम्बिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।