‘हामी माधवकुमार नेपालले भने पनि मान्‍नेवाला छैनौँ’

प्रकाशित मिति:

काठमाडौँ-एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले ‘अदालत विचाराधीन मुद्दाबाट नाम फिर्ता लिने गरी वा त्यसलाई प्रभावित गर्ने गरी गरिने कुनै पनि सम्झौता नमान्ने’ बताएका छन् । विघटित प्रतिनिधि सभाका एमाले सदस्य खतिवडाले   भने, ‘हामी माधवकुमार नेपालले भने पनि मान्नेवाला छैनौँ ।’यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल नेताहरु सम्मिलित टोली ‘सघन’ वार्तामा छ । तर, खतिवडा भन्छन्, ‘हामी सशरीर उपस्थित दर्ता भएको मुद्दा कोही, कसैले वा हाम्रा प्रतिनिधिका नाममा वा कुनै नाममा कुनै सम्झौता गरेको खण्डमा हामी मान्नेवाला छैनौँ ।’

उनी ‘अदालतलाई प्रभावित पार्ने गरी वार्ताका नाममा खेल भइरहेको’ दाबी गर्छन् । उनको भनाइमा, ‘मुद्दाबाट नाम फिर्ता लिएको भनेपछि मनोवैज्ञानिक रुपमा २३ मत घटेको सन्देश दिने प्रपञ्च पनि हो । यद्यपि त्यसले कुनै कानुनी महत्व राख्दैन । अर्को त एमाले मिलेपछि शेरबहादुर देउवाले विश्वास मत प्राप्त गर्न सक्दैनन् भनी मनोवैज्ञानिक सन्देश दिने खेल पनि हो ।’खासमा नेता माधवकुमार नेपाललाई अत्याउने खेल अनुरुप वार्ताको नाटक मञ्चन भइरहेको खतिवडा ठान्छन् । ‘अनि कसरी नाम फिर्ता लिन मिल्छ रु’ खतिवडा प्रश्न गर्दै भन्छन्, ‘हामी नेता तह र माननीय तहका मानिस सशरीर उपस्थित हुँदै अदालत गएका हौँ । हामी कसैले झुक्याएर वा अन्जानमा गएका होइनौँ । संविधान उल्लंघन गरी प्रतिनिधि सभा विघटन भएको निस्कर्षसहित रिटमा गएका हौँ । प्रतिनिधि सभालाई पूरा कार्यकाल चल्न दिन र संविधानको बर्खिलापमा प्रधानमन्त्री गएका हुन् भन्ने मान्यतासहित गएका हौँ ।’

उनी ‘वार्ताका निम्ति अधिकार दिएको नाममा अदालतसँग गाँसिएका विषयमा निर्णय लिन्छन् भने मान्न वाध्य नहुने’ बताउँछन् । उनले भने, ‘कुनै मुद्दामा गएको विषयमा यसरी बीचैमा फिर्ता काम राजनीतिक र नैतिक हिसाबले जच्ने काम होइन । हामीले हिजो–अस्तीसम्म गैरसंवैधानिक भनिरह्यौँ, अब कसरी संवैधानिक हुन्छ ?’