काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी अफिस बेयरर्स बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार सो निर्णय सार्वजनिक गरेका हुन् । अध्यक्ष पन्तका अनुसार प्रतिष्ठानका अन्य सदस्यहरु भने घले स्यमले नै चयन गर्ने छन् ।
अध्यक्ष पन्तले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिँदै ‘नेपालको सामाजिक(आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्न उहाँलाई सफलता मिलोस्’ भनेका छन् । त्यस्तै, संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले संघको नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिएका छन् । आचार्यले विगतमा ‘एनआरएनए( भिजन २०२० एण्ड बियोंड जस्तो दस्तावेज तयार पारेर संघलाई आधुनिक र समय सुहाउँदो संस्था बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
बधाई सन्देशमा आचार्यले भनेका छन्, ‘आगामी दिनमा नेपाल र प्रवासमा रहेका थिंक ट्यांकहरुसँग सहकार्य गरी नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा गैर आवासीय नेपालीहरुको भूमिकाबारे ठोस र रचनात्मक सुझाव दिन प्रतिष्ठान सफल होस् भन्ने शुभकामना । त्यसैगरी संघका उपाध्यक्ष सोनाम लामाले पनि संघका प्रमुख संरक्षक घले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा बधाइ दिएका छन् । लामाले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अनुकूल हुने गरी नीति निर्माणमा घलेलाई सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।(जीएनएन












