मनाङ । बाढी र पहिरोका कारण मनाङको सडक यातायात विच्छेद भएको छ । डुम्रे–बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटान भएपछि यातायात अवरुद्ध भएको हो ।
सडक विभागका अनुसार अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा शुक्रबार सम्म लाग्ने भएको छ । अहिले सडकका विभिन्न खण्डमा पहिरो हटाउने, सडक कटान भएको ठाउँमा संरचना निर्माण गर्ने र काठेपुल बगेका स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ ।
विभागका अनुसार चामेको रामबजारमा रहेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । यस्तै, तिमाङदेखि कोतोसम्म सडकमा रहेका पहिरो हटाउने काम जारी छ।
फापरखेतमा स्थानीयको खेत काटेर सडक सञ्चालन गर्नुपर्ने अवस्था आएपछि जग्गाको क्षतिपूर्तिको विषयमा विवाद देखिएको थियो। पालिका, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग समन्वय गरी उक्त समस्या समाधान भइसकेको सडक विभागले जनाएको छ ।
यस्तै, खोत्रोमा सडक नै बगेको विभागले जनाएको छ । त्यहाँ ब्याक कटिङ गर्ने तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । खोत्रो नजिकैको भिरमा सडक खोल्न नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको तयारी समेत भइरहेको विभागले जनाएको छ ।
बगरछापमा लेदो र पहिरो हटाउने काम पनि जारी छ । बाढीका कारण बगेका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
सडक विभागका अनुसार विभिन्न स्थानमा भइरहेको मर्मत तथा पुनर्निर्माणको काम पूरा गरी शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
बाढी र पहिरोका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेकाले तत्काल यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई अवस्था बुझेर मात्रै यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।









