ईतिहास सम्झीदै प्रधानमन्त्रीले भने मनमोहन अधिकारीलाई कांग्रेससँग मिलेर काम गर्नै दिइएन

प्रकाशित मिति:

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले ०५१ सालमा अल्पमतको सरकारको नेतृत्व गरेका स्वर्गीय मनमोहन अधिकारीलाई काम गर्नै नदिइएको स्मरण गरेका छन् । स्वर्गीय अधिकारी कांग्रेससँग मिलेर काम गर्न चाहेको तर एमालेभित्रबाट काम गर्न नदिइएको उनले बताए । प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले कांग्रेसले कहिल्यै प्रतिपक्षलाई गाली नगर्ने भन्दै विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षलाई निरन्तर गाली गरेकामा व्यंग्य कसे ।

विश्वासको मतको छलफलका सन्दर्भमा प्रतिपक्षबाट आएका सल्लाहलाई कांग्रेसले रचनात्मक रूपमा लिने उनले स्पष्ट पारे ।सबै जातजाति र क्षेत्रलाई समेटेर लैजान नै समावेशी संविधान निर्माण गरिएको उनले बताए ।राजनीतिक व्यक्तिलाई जेलमा राखेर समस्याको समाधान नहुने उनले बताए । तर, अदालतमाथि हस्तक्षेप नगरिने प्रष्ट्याए । सांसद रेशमलाल चौधरीलाई आफूले पहिल्यैदेखि राम्रोसँग चिनेको उनले स्पष्ट गरे ।सरकारका तीनवटा प्राथमिकता रहेको उनले सम्झाए– खोप, खोप र खोप । विकासभन्दा जिन्दगी बचाउनु महत्त्वपूर्ण रहेको उनले बताए ।

छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्नुबाहेक अरू कुनै राष्ट्रिय हित नभएको उनले बताए । सरकारले सधैँ राष्ट्रिय हितलाई ख्याल राखेर काम गर्ने बताए । आफूहरू कहिल्यै भारत र चीनको विपक्षमा नरहेको उनले बताए ।संविधानको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालतले सोही अधिकार प्रयोग गर्दै संविधानको धारा ७६ (५)को सुस्पष्ट व्याख्या गरेर लोकतन्त्र बचाएको उनले बताए । सबैलाई मिलेर जान प्रधानमन्त्री देउवाले आग्रह गरे । र, राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरे । ‘राष्ट्रिय सरकार बनाउन सबैजना आएमा म तयार छु,’ उनले भने, ‘सबै मिलेर देश बनाऔँ ।’