कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै साउन अन्तिम साता गर्ने तयारी, पूर्णाङ्क १००
काठमाडौं, साउन ४ : कोरोना कहरका कारण निर्धारित समयमा हुन नसकेको कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी भइरहेको छ।राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र र मिति तोक्ने र परीक्षा तालिका सार्वजनिक गर्न गृहकार्य थालेको जनाइएको छ।माध्यमिक शिक्षा सकिने कक्षा १२ को परीक्षा जेठ २६ गते नै गर्ने तय भए पनि कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि स्थगित गरिएको थियो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आइसकेको बोर्डले जनाएको छ।भौतिक उपस्थितिमै परीक्षा गराउने अनुमति मागिएको, मन्त्रालयले सोहीबमोजिमको प्रस्ताव सिसिएमसीमा लगेको र सिसिएमसीले पनि अनुमति दिएको जानकारी आएको बोर्डको भनाइ छ। तथापि पत्र भने आइनसकेको बोर्डले जनाएको छ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन्।
बोर्डले कक्षा १२ को परीक्षा यसपटक १०० पूर्णांककै हुने जनाएको छ। गत वर्ष पनि कोरोना महामारीका कारण धकेलिएको परीक्षा होम सेन्टरमै समयभार घटाएर ४० अंकमा लिइएको थियो। उक्त किसिमको परीक्षा मूल्यांकन पद्धति प्रभावकारी नभएको निष्कर्ष निकालिएकाले यो वर्ष १०० पूर्णांककै परीक्षा गराउन लागिएको बोर्डको भनाइ छ। गत वर्ष बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा भएको थियो। बोर्डले देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो।












