मंसिर १८, काठमाडौं– धर्म परिवर्तन उद्योगअन्तर्गत कसूर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको छ ।
जाहेरी लिएर परिसरमा पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामाले फिर्ता पठाइदिएका हुन् ।
‘प्रधानमन्त्रीविरुद्ध जाहेरी लिएर एकजना आउनुभएको थियो, मैले अदालत जानुस् भनिदिएँ,’ एसएसपी लामाले लोकान्तरसँग भने ।
‘प्रधानमन्त्रीज्यू पनि यो देशको नागरिक हो । कसूर गरेको भए कुनै पनि नागरिकविरुद्ध जाहेरी लिन्छौं । धर्म परिवर्तन कसूर गरेको त देखिन पर्यो नि, प्रमाण चाहियो नि !’ एसएसपी लामाले थपे, ‘जाहेरी छाडेर जानुस्, हामी माथिल्लो निकायमा कुरा गरौंला, दर्ता पनि गर्न सक्छौं, दरपीठ पनि हुन सक्छ भनिदिएको थिएँ, जानुभयो क्यारे ।’
युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नामक क्रिश्चियन धर्म प्रचारक संस्थाको मुख्य आयोजनामा भएको कार्यक्रमको सहआयोजक बनेको, कार्यक्रममा सहभागी भएको तथा उक्त संस्थाले दिएको पुरस्कार ग्रहण गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीको सोही गतिविधिलाई धर्म परिवर्तन उद्योग अन्तर्गतको कसूरका रूपमा व्याख्या गर्दै उनले जाहेरी दिएका हुन् ।












