अन्तर प्रदेश परिषद्को बैठकको तयारी पुरा

प्रकाशित मिति:

१८ मङ्सिर, काठमाडौँ । आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए ।

मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषदमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहेका छन् ।

सङ्घ र प्रदेश तथा प्रदेश–प्रदेश बीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी दिए । उनका अनुसार आइतबार बस्ने बैठकमा परिषद्का सदस्यबाहेक सङ्घका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागी हुनेछन् ।