श्रावण १० स्याङ्जा । नेपाली काङ्ग्रेसको चौधौं अधिवेशन तयारी चलिरहँदा आँधीखोला गाउँपालिकामा काङ्ग्रेस कार्यकर्ताहरुको छलफल तीव्र बनेको छ । लगातारजसो आँधीखोलाका काङ्ग्रेस कार्यकर्ताहरु विभिन्न चरणका छलफलमा जुटेका छन् । आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोट लगायत आगामी स्थानीय निर्वाचनको रणनीति बनाउनका लागि काङ्ग्रेस कार्यकर्ताहरुका बाक्लै छलफल चल्न थालेका छन्
आँधीखोला गाउँपालिकामा काङ्ग्रेस तुलनात्मक रुपमा कमजोर भएको भन्दै सङ्गठन बलियो बनाउनका लागि केही समय यता तरुण युवाहरुले ‘एवाइसी’ ९आँधीखोला युथ काङ्ग्रेस० नामक सञ्जाल निर्माण गरेर त्यसमार्फत् सामाजिक अभियान चालेका छन् । यही एवाइसीको सक्रियतामा आँधीखोलामा कोभिडको दोस्रो लहर सुरु हुने बित्तिकै निशुल्क एम्बुलेन्स सञ्चालन भएको छ । युथ काङ्ग्रेसको सक्रियतामा भएको एम्बुलेन्सले गरिब, विपन्न तथा असहाय वर्गका मानिसहरुलाई सेवा दिएको स्थानीयहरुले बताएका छन् । सयौं कठिन अवस्थाका बिरामीहरुलाई उपचारका लागि पोखरा र स्याङ्जाका विभिन्न अस्पतालमा पुर्याएर सेवा दिइरहेको एम्बुलेन्स सेवा गरिबहरुका लागि उपयोगी बनेको छ ।
शनिबार काङ्ग्रेस कार्यकर्ताहरुले आँधीखोला ५ कृषिमा एक छलफल कार्यक्रम सम्पन्न गरेका छन् । ‘अधिवेशन तयारी छलफल’ कार्यक्रममा आँधीखोला काङ्ग्रेसका सभापति नारायण पौडेल शास्त्री, आँधीखोला काङ्ग्रेसका सल्लाहकार प्रदीप पौडैल, महाधिवेशन प्रतिनिधि प्रेम पौडेल, लेखमाया पौडेल, आँधीखोला गापा काङ्ग्रेसका सचिव नविन ढकाल, भरत ढकाल, युवा नेता जगदीश पौडेल, पूर्व जिसिअ नरेन्द्र पौडेल, लगायतको उपस्थिति थियो ।
नेपाली काङग्रेसका नेता प्रदीप पौडेलले काङ्ग्रेसले लोकतन्त्रका हरेक लडाइँमा विजय प्राप्त गरे पनि कम्युनिष्टहरुको भ्रम चिर्न नसक्दा पछि परेको बताउनुभयो । लोकतान्त्रिक योद्धा तथा वयोवृद्ध नेता वेद प्रकाश पनेरुले विपीसँगको प्रभावले आफूहरुले गाउँमा निष्ठाको लडाइँ लडिरहेको बताउनुभयो । महाधिवेश प्रतिनिधि प्रेम पौडेलले काङ्ग्रेसले नै सङ्कटमा मुलुकलाई निकास दिएको बताउनुभयो । मुक्तिनाथ कृषिका अध्यक्ष तथा योजनाकार भरत ढकालले युवाहरुलाई उत्पादनमा जोड्न नसक्दासम्म आजको राजनीतिको बेथिति नहट्ने भएकाले युवाहरुलाई कृषि कर्ममा जोड्न आँधीखोलाले विशेष योजना ल्याउनुपर्ने बताउँदै यसका लागि आफूले पनि सोचिरहेको बताउनुभयो ।









