स्रोत नखुलेको ३२ लाख रकमसहित दुई जना पक्राउ

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
साउन १९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलियाबाट सोमबार स्रोत नखुलेको ३२ लाख ९० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ।

बरामद भएको रकममा ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनु भयो । पक्राउ पर्ने २ जना मध्ये एक जना भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र अर्का एक जना पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव रहेका छन्। नेपाली नम्बर प्लेटको मोटरसाइकलमा जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट रकम बरामद भएको डिएसपी लामाले जानकारी दिनु भयो ।

बरामद भएका भारतीय रुपैयाँमा २ हजार र ५ सयका नोट छन्। भने नेपाली रुपैयाँमा १ हजार र ५ सयका नोट छन्। पक्राउ परेकाहरुले आफूहरुले उक्त रकम ठूठीबारीस्थित जयसवाल वस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन्।

सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरेको बताइएको छ। भारतीय रुपैयाँ सटही गर्दा कारोबारीहरुले उपभोक्तासँग प्रति सयकडा ५ रुपैयाँ बट्टा काटेर दिने गरेको एक कारोबारीले बताएका छन्। बरामद भएका रकम स्रोत नखुलेकोले आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइने प्रहरीले जनाकारी दिएको छ।