भुटानले नेपाल पठायो ३ लाख डोज एस्ट्राजेनेका खोप

प्रकाशित मिति:

काठमाडौं – भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप नेपाल आइपुगेको छ । आज शुक्रबार विहान पारो ड्रुक एयरको कार्गो विमानबाट काठमाडौं खोप ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको छ । भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।