गण्डकी प्रदेशमा पठनपाठनका लागि अफलाइन मोबाइल एप्स सञ्चालन गरिने

प्रकाशित मिति:

२३ श्रावण, पोखरा । गण्डकी प्रदेशमा इन्टरनेटविना कक्षा सञ्चालन गर्न मिल्ने अफलाइन मोबाइल एप्स सञ्चालनमा ल्याइने भएको छ । गण्डकी प्रदेश सरकारका शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोभिडबाट असाध्यै प्रभावित भएको शिक्षालाई नेपालको परिवेशमा पुनर्जीवित गर्न सहजरुपमा सञ्चालन हुने गरी अफलाइन मोबाइल एप्स ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका पहाडी गाँउगाँउमा इन्टरनेट सुविधा पुगेको छैन, त्यसैले अफलाईन एप्स ल्याउन लागेका हौं ।

सबै नागरिकलाई एन्ड्रोइड मोबाईल उपलब्ध गराउन सकिने अवस्था पनि नरहेको र स्वयम् सबै नागरिकले आफै किन्न सक्ने अवस्थामा पनि नरहेकाले नजिकैको विद्यालय वा पायक पर्ने ठाँउमा सञ्चालन हुने गरी अफलाईन मोबाइल एप्समार्फत् कक्षा चलाउने व्यवस्था मिलाउन लागिएको मन्त्री श्रेष्ठले बताउनु भएको छ । विश्वका विभिन्न देशमा यो कार्यक्रम सञ्चालन भई रहेको भन्दै नेपालका लागि यो प्रभावकारी हुने उहाँले स्पष्ट पार्नु भयो ।

इन्टरनेट सुविधा पुग्न नसकेको ठाँउको पढाई नै अस्तव्यस्त हुने देखिएको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘त्यैसैले हामी वैकल्पिक उपायतर्फ लागेका छौं ।’ मन्त्री श्रेष्ठले कोभिडले टुटफुट भएको नेपालको शिक्षालाई वैकल्पिक उपाय अपनाएर नै उठान गर्न सकिने स्पष्ट पार्नु भयो ।’ उहाँले गण्डकी प्रदेशमा यसलाई नमुनाका रूपमा प्रयोग गरिने बताउनुभयो ।