कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै

प्रकाशित मिति:

बुटवल- कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै गएको पाईएको छ । बुटवलमा गरिएको कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय गर्ने कार्यको अभिमुखीकरण कार्यक्रममा अवसरमा अभियान सफल हुँदै गएको जानकारी गराईएको हो ।

बुटवल उपमहानगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य संगठनको सहयोगमा कोभिड खोपका लागि अनलाइन फारम दर्ता अभियान यस अघिबाट शुरु भईसकेको छ ।नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेजबाट थाहा पाउने भएकाले पनि यो अभियान प्रभावकारी बन्दै गएको बताईएको छ । शुक्रवार सम्म ७७ हजार ५ सय ३० जना नगरवासीले आफ्नो बिबरण दर्ता गराएका बुटवल उपमहानगरले जनाएको छ । अव उनीहरुले पालो अनुसार खोप लगाउने नगरको भनाई छ ।

खोपलाई बिद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै ,स्वास्थ्य सेवा बिभागका अधिकृत शिवलाल शर्माले नविनतम प्रबिधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने बताउनु भयो । उहाँले कार्यक्रमको परिचय उद्देश्य लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले सात प्रदेशका सात वटा पालिकामा यो अभियान चलिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका रोशन चौधरीले आधुनिक प्रबिधिको प्रयोगले कोभिड बिरुद्धको खोप निक्कै प्रभावकारी हुने बिश्वास व्यक्त गर्नु भयो ।

व्यवस्थित तथ्याङ्क राख्ने कार्यले खोपको प्राथमिकता कसलाई र कसरी दिने भन्ने निक्कै सजिलो हुने बताउनु भयो ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले अभियानको अहिले सम्मको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले उपमहानगरका १९ वटै वडामा प्रभावकारी रुपमा तथ्याङ्क संकलन र अनलाई दर्ताको काम भईरहेको जानकारी गराउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिदै युएनडिपीको लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले अभियानको कारण कोही पनि खोपबाट बन्चीत नहुने भनाई राख्नु भयो । उहाँले भन्नुभयो, ‘दर्ता प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाईजेसन गर्दा सहज रुपमा काम गर्न सकिन्छ र कस्ता व्यक्ति खोप लगाउन बाँकी छन् भन्ने सहजै थाहा हुन्छ ।’ यो अभियानले खोपका सम्वन्धमा भावी योजना निर्माण गर्न समेत सजिलो हुने स्पष्ट पार्नु भयो ।

अर्का प्रशिक्षक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आईटि अधिकृत राजेन्द्र पौडेलले यो अभियानलाई देशका सबै पालिकामा सञ्चालन गर्न सकिने हो भने सबैलाई व्यवस्थित रुपमा खोप दिन सकिने बताउनु भयो । उहाँले अभियानमा सहभागी नागरिकहरुको बिबरण कसरी भर्नेे भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा परिवार नियोजन तथा जनसंख्या अधिकृत बसन्त कुमार श्रेष्ठ,बिश्वस्वास्थ्य संगठनका प्रतिनिधीहरु डाक्टर श्रुती नेपाल र डाक्टर मोना प्रधान लगायतले बोलेका थिए ।अभिमुखीकरण कार्यक्रममा उपमहानगरका सबै खोप केन्द्रका स्वास्थ्य कर्मचारीहरु,युवा स्वयंसेवकहरु,वडा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।यो अभियानमा नाम दर्ता गर्न नभुलौं खोप लगाउन नछुटौ भन्ने नारासहित उपमहानगरका १९ वटै वडामा ४५ स्वयंसेवकहरु परिचालन गरिएका छन् । वडा कार्यालय र आफ्नै टोल समिति मार्फत फारम भर्न पाइने भएपछि सर्वसाधरणको पहुंच बढेको छ । संक्रामक रोग जो कोहीलाई लागेपनि प्रभावीत हुने भन्दै नाम र परिचय खुल्ने कागजातका आधारमा १८ वर्षभन्दा माथिका सबै नागरिकको नाम दर्ता गरिएको छ । युवा स्वयंसेवकहरु वडा कार्यालय र टोलमा पुगेर अनलाईन नाम दर्ता गरीहेका छन् ।