२० प्रतिशत बढ्यो एभरेष्ट प्रिमियर लिगका खेलाडीको तलब

प्रकाशित मिति:

३१ साउन, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा नेपाली खेलाडीहरुको तलब २० प्रतिशत बढ्ने भएको छ । ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच खेलाडीको तलब वृद्धि गर्ने सहमति भएको ईपीएलले विज्ञप्तिमार्फत जनाएको छ ।

अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै तलब बढाउने निर्णय भएको हो ।चितवन टाइगर्सका मालिक किशोर भट्टराईले कोभिड–१९ को महामारीका कारण खेलाडीहरुले खेल्न समेत नपाएको र पारिश्रमिक पाउन नसकेको भन्दै यो वर्ष २० प्रतिशत तलब बढाउन सर्वसम्मत रुपमा सबै सहमत भएको बताएका छन् ।

यस्तै ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले नेपाली क्रिकेटमा सबै स्टेकहोल्डरको विकास नै लिगको सामूहिक उद्देश्य रहेको भन्दै खेलाडीहरुको पारिश्रमिक बढाउन सहमत भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो राम्रो फड्को भएको बताए ।