कालीगण्डकी वान १६०० मेगावाटको फेरि अध्ययन थाल्न सांसद मोहनप्रसाद पाण्डे द्धारा सरकारको ध्यानाकर्षण ( भिडियो सहीत )

प्रकाशित मिति:

काठमाडौं । स्याङ्जा र गुल्मीको सीमानामा ४० वर्षअघि सर्वे गरेर अलपत्र अवस्थामा रहेको कालीगण्डकी वानको विषयले संसद्‌मा प्रवेश पाएको छ । सांसद मोहनप्रसाद पाण्डेले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै तत्काल फेरि अध्ययन थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले स्याङ्जा र गुल्मीको सीमा क्षेत्रमा रहेको साँघुरे भन्ने स्थानमा ड्याम बाँधेर १६०० मेगावाट विद्युत् निकाल्न जाइकाले ४० वर्षअघि नै सर्वे गरे पनि आयोजना अघि बढ्न नसकेको भन्दै सरकारले फेरि अध्ययन थाल्नुपर्ने बताए ।जाइकाले ४० वर्षअघि गरेको सर्वेअनुसार उक्त क्षेत्रमा २६० मिटर अग्लो बाँध बाँधेर ड्याम निर्माण गर्ने र उक्त आयोजनाबाट १६०० मेगावाट विद्युत् निकाल्न सकिने अध्ययन गरेको थियो ।अहिलेको बदलिँदो परिस्थितिअनुसार पुनः अध्ययन गरेर आयोजना अघि बढाउनुपर्ने पाण्डेको माग छ ।

त्यसैगरी पाण्डेले कालीगण्डकी २ को पनि फेरि अध्ययन थाल्न सरकारको ध्यानाकर्षण गराए । उनले स्याङ्जाको चापाकोट, पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका, तनहुँ र नवलपरासीको केही पालिकामा कालीगण्डकी २ को जाइकाले प्रारम्भिक अध्ययन गरेको भन्दै फेरि अध्ययन थाल्न माग गरेका हुन् । उक्त क्षेत्रमा त्यसबेला गरिएको सर्वेअनुसार ८६० मेगावाटको विद्युत् निकाल्न सकिन्थ्यो तर अहिलेको अवस्थालाई हेरेर फेरि सरकारले अध्ययन गर्न माग गरे ।पाण्डेले प्रतिनिधिसभाको बैठकमा परमादेशबाट बनेको सरकार भन्ने नेकपा एमालेका सांसदहरुलाई कडा जवाफ दिएका थिए ।