काठमाडौं, २० मंसिर – दक्षिण एशियाली मुलुकबाट नेपाल आतंकबादीको सूचीमा परेको छ । उक्त सूचीमा भारत, अफगानस्तानलयातका एशियाली राष्ट्रहरु टप टेनभित्र परेका छन् ।
बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ प्रतिवेदनमा आतंकवादबाट दक्षिण एशिया सबैभन्दा बढी असुरक्षित रहेको जनाइएको छ ।
अष्ट्रेलियामा मुख्यालय रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले हरेक वर्ष यो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
प्रतिवेदनमा दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, पाकिस्तान र भारतलाई आतंकवादबाट सबैभन्दा बढी प्रभावित मानिएको छ । नेपाल पनि आतंकवादको सूचीमा ३३ औं नम्बरमा छ ।
सूचीको पहिलो नम्बरमा इराक रहेको छ भने दोस्रोमा अफगानिस्तानलाई परेको छ । त्यसपछि टपटेन सम्म क्रमशः नाइजेरिया, सिरिया, पाकिस्तान, सोमालिया, भारत, यमन, इजिप्ट र फिलिपिन्स परेका छन् । सो सूचीमा नेपालको अर्को छिमेकी चीनलाई भने ३६ औं नम्बरमा राखिएको छ ।
यसैगरी विश्वको महाशक्ति राष्ट्र अमेरिका २० औं नम्बरमा छ भने बेलायत २८ औं नम्बरमा छ । अध्ययनमा राखिएका १३८ मुलुक मध्ये बोलिभियालाई सबैभन्दा पुछारमा राखिएको छ भने दक्षिण एशियाकै भुटान पनि १३५ औं नम्बरमा छ ।












