१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् ।यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन ।
खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी साधन गुडाउन निकै सास्ती भएको सवारी चालकहरुको गुनासो छ । सडक विस्तार थालनी भएको योगीकुटी(बसपार्क बाइपास सडक पनि निर्माणाधीन अवस्थामा अलपत्र छ । बजेट सुनिश्चित नभई सडक भत्काइएका कारण पनि सडकको अवस्था दयनीय भएको यस क्षेत्रका वासिन्दा बताउँछन् ।खाल्डाले सडक बेहाल बनेको भन्दै जनता समाजवादी पार्टीले सडकमै कालो ब्यानर टांगेर चार महिना पहिल्यै तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण पनि गराएको थियो ।
सडक डिभिजन कार्यालयले बेला बेलामा खाल्डामा गिट्टी हालेर पुर्ने गरेपनि वर्षाको पानीले बगाएर सडक पुरानै अवस्थामा पुर्याएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । मुद्दा परेका कारण चौराहा–गोलपार्क सडक विस्तारमा तीन वर्ष ढिला भयो’ उनले भने, ‘अब वर्षा रोकिएलगत्तै सडक पीचको काम हुन्छ ।’ बुटवल गोलपार्क ६ लेन सडक निर्माणको ठेक्का कन्चनजंघा बिरुवा जेभीले लिएको छ । मरासिनीका अनुसार ठेकेदारसंग नियमित सम्पर्क भइरहेको र मौसममा सुधार आउने बित्तिकै काम शुरु हुनेछ । वर्षा रोकिएको अवस्थामा एक महिनामा राजमार्ग चौराहा र अस्पताललाइनको सडक कालोपत्रे हुने मरासिनीले बताए ।@onlinekhabar









