काठमाडौं । नेपालविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारतीय पुरुष राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । भारतीय टोलीका मिडफिल्डर अनिरुद्ध थापाले नेपाललाई आफूहरूले हलुका रूपमा नलिएको बताएका छन् ।दुई मैत्रीपूर्ण खेलका नेपाल आएको भारतीय टोलीका मिडफिल्डर थापाले चीनमा हुने एएफसी एसियन कपका लागि नेपाल भ्रमण सुरुआत भएको बताए । त्यसकारण उनले नेपाललाई हलुका रूपमा नलिएको बताए ।
‘‘२०२३ मा चीनमा हुने एसियन कप प्रतियोगितामा छनोट हुने लक्ष्यमा छौँ । नेपाल भ्रमण हाम्रो लक्ष्य प्राप्तिका लागि सुरुआती पाइला हो,’’ थापाले थपे, ‘‘प्रशिक्षकले हामीलाई केही निर्देशन दिनुभएको छ । त्यसमा हामी सुधार गर्नेछौँ । हामीले नेपालले हल्का ढङ्गले लिएका छैनौँ । यो दुई खेल प्रतिस्पर्धात्मक हुनेछ । हामीलाई टोलीको कमजोरी सुधार्न सहयोगी हुनेछ ।’’भारतले भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि २५ सदस्यीय भारतीय टोली नेपाल आएको हो । नेपाल आउनुअघि भारतीय टोलीले कोलकातामा प्रशिक्षण गरेको थियो । कोलकातामा प्रशिक्षण गरेपछि भारतीय टोली नयाँ दिल्ली हुँदै नेपाल आएको हो ।
मोहन बगान र बेङलुरु फुटबल क्लका खेलाडी सुरुबाट प्रशिक्षणमा सामेल हुन सकेका थिएनन् । दुबै क्बल एएफसी कपको तयारी गरिरहेको छन् । बेङलुरु एफसीका खेलाडी नयाँ दिल्लीबाट टोलीमा सामेल भएको हो । मोहन बगानका खेलाडी केही दिनअघि मात्र कोलकातामा टोलीसँग समावेश भएका थिए ।‘‘कोलकाताको प्रशिक्षणले टोलीलाई संगठित बनाउन सहयोग गरेको छ । त्यसले टोलीको प्राविधिक पक्षमा पनि सुधार आएको छ,’’ भारतका मिडफिल्डर प्रोनय हाल्डरले भने ।पछिल्लोपटक भारतको राष्ट्रिय टोली विश्वकप छनोट प्रतियोगिता खेल्न २०१५ मा नेपाल आएको थियो । त्यतिबेला गोलरहित बराबरी खेलेको थियो । पहिलो लेगमा भने भारत २–० ले विजयी भएको थियो ।भारतले नेपालमा मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलो पटक हो ।









