स्याङ्जा-वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ ।
वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई सहयोग र सहजीकरण गर्ने बताईएकोछ ।
युवा, बिदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेर उद्यम गर्न चाहाने व्यक्तिहरुको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।
उद्यमी वन्न चाहने व्यक्तिहरुको नविनतम सोच तथा विचारहरुलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘केन्द्रले मेन्टर रोस्टर अर्थात बिज्ञहरुको समूह मार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिहरुलाई सहजीकरण र सहयोग गर्दछ ।’व्यशाय शुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिट लगायका कार्यमा उद्यमीहरुलाई कागजी रित पुर्याउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित बस्तुलाई सहज र व्यवस्थित रुपमा बजार सम्म पुर्याउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने खाँणले बताउनु भयो । उद्यमी, सल्लाहकार समिति,व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तिय सस्था,स्थानीयतह र सरोकारवाला सस्थाहरुको सन्जाल मार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनु भयो । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको उहाँले बताउनु भयो ।
युवाहरुलाई स्थानिय स्तरमा नै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य ध्येय रहेको ईबिक व्यवस्थापन गरिरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।कहाँ र कुन ठाँउबाट सहजै सेवा, अनुदान, ऋण आदि पाईन्छ भन्ने जानकारी नभएको दुरदराजका कृषक तथा उद्यमीको यो महत्वपूर्ण सारथीको रुपमा ईबिक रहने अध्यक्ष तिवारीले बताउनु भयो ।सेन्टरको आज वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण, युएनडिपीका आवासीय प्रतिनिधि बर्नाड कोको र युएनडिपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको हो ।सो अवसरमा बोल्दै युएनडिपीका आवासीय प्रतिनिधी बर्नाड कोकोले वालिङ नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि शुरु गरेको अभियान अरुका लागि समेत उदाहरणीय रहेको बताउनु भयो ।
परिक्षणका लागि गत सालबाट शुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका फोकलपर्सन प्रकाश अर्यालले जानकारी दिनुभयो ।वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो । यसैबीच, वालिङ नगरपालिका र युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरिरहेको ‘हरियाली पुनःउत्थान परियोजना अन्तर्गत श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो ।








