लायन्स बुटवल देउरालीको पांचौं चार्टर नाइट

प्रकाशित मिति:

बुटवल, १ असोज । लायन्स क्लब अफ बुटवल देउरालीको पांचौं चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबले दुबै मिर्गौला फेल भएका अर्घाखांची छत्रदेव– ७ भगवतीका ३७ वर्षिय सागर पाण्डेलाई उपचारका लागि ५१ हजार रुपैयां सहयोग प्रदान गरेको छ । यस्तै क्लबले लायन्स समाजसेवा पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ । कार्यक्रममा आफ्नो कार्यकालमा २ महिनाको अवधिमा १३ वटा नयां क्लब गठन गरेर नयां रेकर्ड कायम गरेको भन्दै क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत एरिया ४ द्वारा ताम्रपत्र र डिस्ट्रिक्टद्वारा सर्भिस फ्रम द हर्ट अन्तराष्ट्रिय पिनले सम्मान गरिएको छ । कार्यक्रममा नयां गठन भएका लायन्स क्लब अफ बुटवल सूर्यमुखी र लायन्स क्लब अफ स्वर्गद्वारीको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २का गभर्नर रामप्रसाद भट्टले उद्घाटन गरेका छन् ।

कार्यक्रममा गभर्नर भट्टले तिलोत्तमा ६ स्थित आनन्दवन स्वास्थ्य चौकीलाई करिब डेढ लाख मूल्य बरारबका दुई थान अक्सिजन कन्सन्टे«ेटर मेसिन प्रदान गरेका छन् । यस्तै लायन्स क्लब अफ बुटवल रेसुंगालाई पूर्ण नेसनल लाइफ फण्डमा योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।यस्तै लायन्स क्लब अफ बुटवल देउरालीको बुटवल तिनकुनेस्थित सचिवालयको गभर्नर भट्टले उद्घाटन र क्लब भिजिट गरेका छन् । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २का गभर्नर गभर्नर रामप्रसाद भट्ट, द्वितीय भाइस गभर्नर नवराज न्यौपाने, डिस्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकोटा, डिस्ट्रिक्ट एक्ज्युकेटिभ चिफ अर्जुनमान सैंजू, एरिया ४ चिफ जीवन गौतमले बोल्दै लायन्स देउरालीले छोटो समयमै उदाहरणीय काम गरेको बताए । कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष रमेश पाण्डेको स्वागत,सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । अर्जुन पाण्डे संयोजक रहेको कार्यक्रममा लोकदोहोरी गायक खुमन अधिकारी सुमन गैरे,पुरुषोत्तम भण्डारी लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।